jaya Bdr Hitan prg

 विष्णुकुमार सिङ्जाली
मंसीर २६, २०७१
काठमाडौ ।

नेपाल मगर संघ, केन्द्रीय समिति काठमाडौको आयोजनामा गरिएको एक कार्यक्रमका बिच “जयबहादुर हितानमगर व्यक्तित्व र कृतित्व” नामक पुस्तकको स्व. जयबहादुर हितानमगरका सहकर्मी पूर्व सभासद तथा मगर संघका संस्थापक महासचिव सुरेश आले मगरले लोकार्पण गर्नुभएको थियो । सो पुस्तकमा स्व. जयबहादुर हितानमगरद्धारा लिखित सामाजिक–सांस्कृतिक, राजनैतिक, दैनिकी, साहित्य आदि विविध बिषयहरु जो प्रकाशित र अप्रकाशित रुपमा रहेको थियो त्यसलाई समेटेर राखिएको छ । पञ्चायतकाल लाङ्घाली संघ (पछि मगर संघ) खोल्न गरिएका प्रयाशहरु, आदिबासी हरुले भोग्न परेका पिडाहरु सरल, सटिक र प्राज्ञिक लेखहरु यसमा समेटिएको छ । आफु राजनैतिक बिचारका आधारमा नेपाली काँग्रेससँग आबद्ध भए पनि आदिवासी, पिछडिएका वर्ग र समुदायको बारेमा उहाँले प्रष्ट कुरा उठाएको उहाँको लेखहरुमा पाउन सकिन्छ । उक्त पुस्तकको सम्पादन स्व. हितानमगरको छोरा विजय हितानमगरले गर्नुभएको छ । सम्पादक गोर्खा पल्टनको जागिरबाट पेन्सन भएर अध्ययन शुरु गरी वातावरण विज्ञानमा स्नाकोत्तर गरिसक्नुभएको छ र उहाँ साहित्यकार तथा शोधकर्ता पनि हुनुहुन्छ ।
उक्त कार्यक्रमको अध्यक्षता नेपाल मगर संघ केन्द्रीय समितिका अध्यक्ष महेन्द्र थापामगरले र सञ्चालन सचिव ज्ञानेन्द्र पुनमगरले गर्नुभएको थियो । सो कार्यक्रमको स्वागत भाषण नेपाल मगर संघ, केन्द्रीय समितिका महासचिव नविन रोकामगरले गर्नुका साथै सम्पादक, सञ्जोग लाफामगर, भाषाविद अमृत योञ्जन तामाङ, नेपाल प्रज्ञा प्रतिस्ठानका प्राज्ञ श्रवण मुकारुङ, बम कुमारी बुढामगर, यम बहादुर बुढाथोकी र त्यस कार्यक्रमका प्रमुख अतिथी सुरेश आलेमगर ज्युले स्व. हितानमगर तथा उहाँको जिवनी तथा पुस्तकको बारेमा मन्तव्य दिनुभएको थियो । सो कार्यक्रममा स्व. हितानमगरका धर्मपत्नी प्रेमकुमारी हितानमगर पनि हुनुहुन्थ्यो र स्व. हितानमगरको पाँचौ स्मृती दिवसको दिनमा पुस्तकको लोकार्पण भएको थियो । सोही कार्यक्रममा स्व. हितानमगरका छोरा तथा सम्पादक विजय हितानले स्व. जयबहादुर हितानमगर स्मृती पुरस्कार स्थापनको घोषण गरि त्यसको व्यवस्थापनका बारेमा आदिकवि जितबहादुर सिञ्जालीमगर साहित्य प्रतिष्ठानसंग सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो । सो पुरस्कार बिस हजार रुपैंया र सम्मानपत्र रहने छ । मगर भाषा साहित्यमा कलम चलाएका र मगर समाजका लागि योगदान दिएका व्यक्तित्वहरुलाई यो पुरस्कार दिईनेछ । साथै लोकापर्ण गरिएको पुस्तक विक्रि भै आएको रकम सो पुरस्कार कोषमा जम्मा हुने जानकारी विजय हितानमगरले दिनुभएको छ ।