14322215_1520730934618986_3352473707736530162_n14238093_1343940115623948_3999077726381078876_n14264968_1343556918995601_6397494435364885132_n14333657_1343557125662247_4825108609579005498_nरूद्र श्रीसमगर
मिछुर्लुङ (तनहुँ), २८ भदौ

मगर भाषाका आदिकवि सु. रेखबहादुर सारू मगरको नाममा स्थापित ‘मगर आदिकवि सु. रेखबहादुर साहित्य पुरस्कार–२०७३’बाट मगर भाषाकी साहित्यकार फूलकुमारी थापामगर सम्मानित हुनुभएको छ ।

नेपाल मगर लेखक संघ गण्डकी अञ्चल समितिद्वारा मगर आदिकवि रेखबहादुरको ७३ औं जन्मजयन्तीका अवसरमा मंगलबार तनहुँको पर्यटकीय गाउँ मिछुर्लुङमा आयोजित विशेष समारोहमा साहित्यकार थापा सो पुरस्कारबाट सम्मानित हुनुभएको हो । रेखबहादुरका नाममा स्थापित सो पुरस्कार पहिलोपटक थापाले पाउन सफल हुनुभएको हो ।

यसअघि, अर्का मगर आदिकवि जीतबहादुर सिंजाली मगरका नाममा स्थापित ‘जीबसिम साहित्य पुरस्कार’बाट समेत सम्मानित भइसक्नुभएका साहित्यकार थापा पाँच हजार रुपैयाँ नगद, दोसल्ला र सम्मानपत्रद्वारा सम्मानित हुनुभयो । साहित्यकार थापालाई नेपाल मगर लेखक संघकी केन्द्रीय बाह्र मगरात भाषिक उपाध्यक्ष हेमा आलेमगर ‘बोगी’ले सम्मान गर्नुभएको हो । नेपाल मगर लेखक संघ गण्डकी अञ्चल समितिले रेखबहादुरका नाममा पुरस्कार प्रदानका लागि एक लाख रुपैयाँको ‘मगर आदिकवि सु. रेखबहादुर सारू मगर स्मृति अक्षयकोष’ स्थापना गर्ने घोषणा पनि गरिसकेको छ ।

पुरस्कृत थापाका हालसम्म मगर भाषामा ‘ईट न लेसा मास्टोकूङ कठा र व्यठा’, ‘कानूङ कूरा’ र ‘झोर्ले लाफाको’ तथा नेपाली भाषामा ‘विम्ब–प्रतिविम्ब’लगायतका कृति प्रकाशित छन् । थापा मगर भाषा प्रतिष्ठान नेपालकी केन्द्रीय सदस्य, नेपाल मगर लेखक संघ गण्डकी अञ्चल समितिकी सल्लाहकार, नेपाल मगर महिला संघ कास्कीकी अध्यक्ष एवं राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ जिल्ला समन्वय परिषद्, कास्कीकी उपाध्यक्ष समेत हुनुहुन्छ ।

कार्यक्रममा बोल्दै नेपाल मगर लेखक संघकी केन्द्रीय बाह्र मगरात भाषिक उपाध्यक्ष हेमा आलेमगर ‘बोगी’ले संघले मगर स्रष्टाहरूका सिर्जनालाई डिजिटल प्रविधिमा लैजान लागेको बताउनुभयो । मगर समुदायले अन्य मुद्दा उठाउँदै आएपनि भाषा, लिपिका कुरा पछाडि छोडिएको भन्दै आलेमगरले भाषा, लिपि र साहित्यको कुरा अगाडि बढाउन नै नेपाल मगर लेखक संघको जन्म भएको उल्लेख गर्नुभयो ।

पुरस्कृत व्यक्तित्व साहित्यकार फूलकुमारी थापामगरले मगर जातिको इतिहास लिखित रूपमा नहुँदा अहिलेको पुस्तालाई समस्या भएको बताउँदै मगर भाषामा कलम चलाउनु अहिलेको आवश्यकता भएको बताउनुभयो । पुरस्कारले आफूमाथि मगर साहित्यका लागि केही गर्न थप जिम्मेवारीबोध गरेको बताउँदै थापामगरले मगर भाषा, साहित्यको विकासका लागि सबै मगरहरू एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभयो ।

राजनीतिज्ञ जीतप्रकाश आलेमगरले नेपाल मगर लेखक संघले मगर भाषिक आन्दोलन अगाडि बढाएकोमा खुशी व्यक्त गर्दै सबै मगरहरूलाई समेट्दै अघि बढ्न सुझाव दिनुभयो । भाषिक आन्दोलनको अहिलेको आवश्यकता भएको बताउँदै आलेमगरले मगर लेखक, साहित्यकारहरूले मगर भाषालाई अघि बढाउन अग्रणी भूमिका खेल्नुपर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाल मगर लेखक संघका केन्द्रीय सदस्यद्वय रूद्रबहादुर श्रीसमगर र अनुराग थापामगर, नेपाल मगर पत्रकार संघ प्रदेश नं. ४ का संयोजक प्रताप रानामगर, तनहुँकी अध्यक्ष भूमिका आलेमगर, नेपाल मगर संघ स्याङ्जाकी जिल्ला सदस्य रेवती थापामगर, नेपाल मगर संघ तनहुँका जिल्ला सदस्य बलबहादुर सारूमगर, नेपाल मगर संघ भिमाद गाउँ कार्यसमितिका अध्यक्ष रिबहादुर थापामगर, शुक्ला साहित्य संगम, तनहुँका रामशरण गैह्रे, पूर्व सांसद् मुखिया स्व. पदमबहादुर आलेमगर (पीबीए) समूहका अध्यक्ष मनोज आलेमगर, लक्ष्मी टेलिभिजन स्याङ्जाका स्टेशन म्यानेजर विनोद रखालीमगर, मिछुर्लुङ सामुदायिक होम स्टे व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र थापामगरलगायतले बोलेका थिए ।

नेपाल मगर लेखक संघ गण्डकी अञ्चल समितिका अध्यक्ष बेलीमाया थापामगर ‘गीता’को अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव हुमबहादुर थापामगर ‘ऋतुभक्त’ र स्वागत उपाध्यक्ष धीरेन्द्र थापामगर ‘किसानी’ले गर्नुभएको थियो । मगर गाउँ मिछुर्लुङमा मगर लेखक, साहित्यकारहरूको टोली होम स्टेमा बसेका थिए । सोही क्रममा मगर जातिको मौलिक नृत्य कौह्रा पनि प्रस्तुत गरिएको थियो ।

सो अवसरमा साहित्यकार फूलकुमारी थापामगरको मगर भाषाको अनुवाद कृति ‘झोर्ले लाफाको’, बेलीमाया थापामगर ‘गीता’को कविता संग्रह ‘रोह’ र गायक सन्तोष बगरको ‘बगरको माया’ म्यूजिक भिडियो समेत विमोचन गरिएको थियो । कार्यक्रममा नेपाल मगर लेखक संघ गण्डकी अञ्चल समितिका कोषाध्यक्ष अमृता थापामगरले रेखबहादुरको जीवनी र कार्यसमिति सदस्य कृष्ण थापामगर ‘मीगीन’ले पुरस्कृत व्यक्तित्व साहित्यकार फूलकुमारी थापामगरको जीवनीबारे बोल्नुभएको थियो ।