tanahun lekhak

रूद्र श्रीसमगर
दमौली, २६ भदौ
मगर भाषाका आदिकवि सु. रेखबहादुर सारूमगरको ७२ औं जन्मजयन्तीका अवसरमा शनिबार तनहुँको दमौलीमा विशेष कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल मगर लेखक संघ गण्डकी अञ्चल समितिको आयोजना तथा तनहुँ जिल्ला समितिको सह–आयोजनामा भएको कार्यक्रममा मगर स्रष्टाहरूले आ–आफ्ना रचनामार्फत् मगर आदिकविलाई सम्झिए ।
कार्यक्रममा बोल्दै नेपाल मगर लेखक संघकी केन्द्रीय बाह्र मगरात भाषिक उपाध्यक्ष हेमा आलेमगर बोगीले मगर जातिको ठूलो संख्याले आफ्नो मातृभाषा बिर्सिएकोमा चिन्ता व्यक्त गर्नुभयो ।
राज्यसत्ताको दमन र शोषणका कारण मगर भाषा लोप गराइएको भन्दै उपाध्यक्ष आलेले खस नेपाली भाषामा निकै ठूलो योगदान दिएका मगरहरूको सहभागिता राज्यका कुनै पनि निकायमा नभएकोमा गुनासो प्रकट गर्नुभयो । मगर लेखक, साहित्यकारहरूले मगर भाषाको विकासमा राज्यलाई झकझकाउन र मगर समुदायलाई सचेत गराउन कलम चलाउनुपर्ने आवश्यकता रहेको उहाँको भनाइ थियो । 
नेपाल मगर महिला संघका केन्द्रीय बाह्र मगरात भाषिक उपाध्यक्ष मन्धरी आलेमगरले मगर भाषामा कलम चलाउने मगर साहित्यकार एवं लेखकहरूले मगर जातिको अधिकारका पक्षमा निरन्तर कलम चलाउनुपर्ने बताउनुभयो । नेपाल मगर विद्यार्थी संघका केन्द्रीय महासचिव गोमबहादुर रानामगरले कलम चलाउनेलाई कलम चलाउन र मसाल बाल्नेलाई मसाल बाल्न आग्रह गर्दै राज्यसत्तामा मगर जातिको पहुँचका लागि अन्तिम लडाइँ लड्न आवश्यक रहेको बताउनुभयो ।
नेपाल मगर लेखक संघका केन्द्रीय सदस्य रूद्रबहादुर श्रीसमगरले मगरलगायतका आदिवासी जनजाति, दलित, महिला, मधेशी, मुस्लिम, मजदुर, किसानमाथि शोषण गर्ने राज्यसत्तामाथि लेखकहरूले आफ्नो कलममार्फत् धावा बोल्नु जरुरी बताउँदै आफ्नो पहिचान जोगाउनका लागि नारा र भाषणलाई व्यवहारमा उतार्नुपर्ने आवश्यकता औंल्याउनुभयो । संघका अर्का केन्द्रीय सदस्य अनुराग थापामगरले मगर भाषा र साहित्यको विकासका लागि सबै मगर लेखक, साहित्यकारहरू एकजुट हुनुपर्ने आवश्यकता औंल्याउँदै राज्यले मगर जातिको पहिचानका रूपमा रहेका भाषा, साहित्य, इतिहास, धर्म, संस्कृति र भेषभूषालाई प्राथमिकताका साथ संरक्षणका लागि लगानी गर्नुपर्ने बताउनुभयो ।
नेपाल मगर संघ तनहुँका अध्यक्ष झकबहादुर सारूमगरले नश्लवादी राज्यसत्ताले मगर जातिलगायतका आदिवासी जनजाति समुदायलाई जबर्जस्ती एक भाषा, एक संस्कृति लादेर अन्याय गरेको बताउँदै राज्यले आफ्नो साम्प्रदायिक व्यवहार परिवर्तन नगरे खतरनाक विद्रोह हुने चेतावनी दिनुभयो ।
कार्यक्रममा नेपाल मगर विद्यार्थी संघका केन्द्रीय सदस्य सुमना थापामगर, तनहुँ जिल्ला अध्यक्ष सिजन थापामगर, नेपाल मगर लेखक संघ गण्डकी अञ्चल समितिका कोषाध्यक्ष अमृता थापामगर, कास्की जिल्ला अध्यक्ष मीगीन मगर, तनहुँ जिल्ला अध्यक्ष रामबहादुर आलेमगर, नेपाल मगर महिला संघ तनहुँकी अध्यक्ष काशी रानामगरलगायतले रचनावाचन एवं मन्तव्य व्यक्त गर्नुभएको थियो ।
मगर आदिकवि विशेष कार्यक्रमकै अवसरमा नेपाल मगर लेखक संघ गण्डकी अञ्चल समितिका उपाध्यक्ष धीरेन्द्र थापामगर ‘किसानी’द्वारा लिखित मगर भाषाको कविता संग्रह ‘आसको सिया टा’ अर्थात् ‘उहाँ मर्नुभयो रे’को विमोचन समेत गरिएको थियो । आयोजक संस्थाका अध्यक्ष गीता थापामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव ऋतुभक्त थापामगरले गर्नुभएको थियो ।