Pokhara Magar Lekhakpokhara Magar lekhak 2Pokhara Magar Lekhak 1रूद्र श्रीसमगर
पोखरा, ९ फागुन
विगतका वर्षहरूमा झैं यस वर्ष पनि फेब्रुअरी २१ तारिखमा मनाइँदै आएको १६ औं अन्तर्राष्ट्रिय मातृभाषा दिवस एक कार्यक्रमका बीच शनिबार पोखरामा पनि मनाइयो । १६ औं अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा शनिबार नेपाल मगर लेखक सङ्घ गण्डकी अञ्चल समितिको आयोजनामा ‘मातृभाषा शिक्षाको महŒव, बहुभाषिक शिक्षा निर्देशिका–२०६६ कार्यान्वयनको सवाल’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा अवधारणापत्र प्रस्तुत गर्दै भाषाविद् लोकबहादुर थापामगरले नेपालमा मातृभाषाको आन्दोलन नारामा मात्रै सीमित रहेको उल्लेख गर्नुभयो । ‘हामी आफ्नो मातृभाषा बोल्न पनि लाज मान्छौं, अनि कसरी मातृभाषा बचाउन सक्छौं’, थापामगरले भन्नुभयो, ‘मातृभाषा शिक्षा पाउनु बालअधिकार हो, बालबालिकामा बौद्धिक ज्ञान बढाउन मातृभाषामा शिक्षा आवश्यक छ ।’ नेपालमा बोलिन अधिकांश मातृभाषाहरू स्तरीकरणको अभावमा लोप हुने अवस्था पुगेको भन्दै थापामगरले मातृभाषा बचाउन मानकीकरण पहिलो आवश्यकता भएको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल मगर लेखक सङ्घका केन्द्रीय सचिव रूद्र ‘सन्देश’ मगरले मातृभाषा बोलेर मात्रै मातृभाषाको संरक्षण नहुने भन्दै लेखकहरूले मातृभाषामा कलम चलाउनु आवश्यक रहेको बताउनुभयो । मातृभाषाका लागि समेत बजेट छुट्याउनुपर्ने आवश्यकता रहेको बताउँदै सन्देशले मातृभाषालाई युगौं युगसम्म बचाउन साहित्य लेखनमा जोड गर्नुपर्ने बताउनुभयो । सङ्घका केन्द्रीय सदस्य रूद्रबहादुर श्रीसमगरले मातृभाषा बचाउनका लागि सबैले आ–आफ्नो ठाउँबाट लाग्नुपर्ने आवश्यकता रहेको बताउँदै मातृभाषाको संरक्षणका लागि राज्यले बेवास्ता गरेको गुनासो गर्नुभयो ।
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)का केन्द्रीय सल्लाहकार तिलकप्रसाद पुनले सबै मातृभाषाको समान तवरले विकास गरिनुपर्नेमा जोड दिँदै मातृभाषा विकासका लागि लेखकहरू वौलाउन समेत सक्नुपर्ने बताउनुभयो । आदिवासी जनजाति जिल्ला समन्वय समिति कास्कीका उपाध्यक्ष अशोककुमार भट्टचनले मातृभाषा आदिवासी जनजातिहरूको पहिचान भएको भन्दै सुरक्षा र विचार विनिमयका लागि मातृभाषा महŒवपूर्ण हुने बताउनुभयो ।
थकाली सेवा समितिका अध्यक्ष अम्बर तुलाचनले अन्तर्राष्ट्रिय मातृभाषा दिवसलाई औपचारिकतामा मात्रै सीमित गर्न नहुने भन्दै आगामी वर्ष बहुभाषिक कवि गोष्ठी गर्नुपर्ने प्रस्ताव राख्नुभयो । नेपाल छन्त्याल सङ्घ कास्कीका अध्यक्ष भक्तबहादुर छन्त्यालले आदिवासी जनजातिहरूमा फरक फरक संस्कार भएकाले एकजुट हुन नसकेको भन्दै एकजुट नभएसम्म कुनैपनि उपलब्धि हासिल नहुने उल्लेख गर्नुभयो । नेपाल मगर सङ्घ तनहुँका अध्यक्ष झकबहादुर सारूमगरले मातृभाषा बचाउन युवा पुस्ता सक्रिय भएर लाग्न आवश्यक रहेको भन्दै भाषिक आन्दोलनमा नहोमिएसम्म मातृभाषाको उत्थान गर्न नसकिने बताउनुभयो ।
नेपाल मगर सङ्घ कास्कीका सचिव यामबहादुर थापामगरले मातृभाषा नजान्दा जातीय पहिचान नै नरहने उल्लेख गर्दै नजान्नेले पनि मातृभाषा सिक्न आवश्यक रहेकोमा जोड दिनुभयो ।
नेपाल मगर महिला सङ्घ कास्कीका अध्यक्ष फूलकुमारी थापामगरले मातृभाषाप्रति चासो र चिन्ता हराउँदै जानु दुःखद् कुरा भएको भन्दै युवा पुस्ताले यसप्रति चासो दिनुपर्ने बताउनुभयो । नेपाल आदिवासी जनजाति विद्यार्थी महासङ्घका केन्द्रीय सदस्य विवेक थापामगरले विद्यार्थीहरूलाई आफ्नै मातृभाषामा शिक्षा दिन सके उनीहरूको बौद्धिकस्तर बढ्ने भन्दै मातृभाषा शिक्षा पाउने मौलिक अधिकारबाट राज्यले वञ्चित गरेको बताउनुभयो । अध्यक्ष बेलीमाया थापामगर ‘गीता’को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव हुमबहादुर थापामगर ‘ऋतुभक्त’ले गर्नुभएको थियो भने उपाध्यक्ष धीरेन्द्र थापामगर ‘किसानी’ले कार्यक्रमको उद्देश्यमाथि प्रकाश तथा कास्की जिल्ला अध्यक्ष कृष्ण थापामगर ‘मीगीन’ले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो